नक्षत्र वाटिका लमही नगरपालिका–९ लाई हस्तान्तरण
देउखुरी । डिभिजन वन कार्यालय, देउखुरीको पहलमा लमही नगरपालिका–९, रिहार क्षेत्रमा निर्माण गरिएको नक्षत्र वाटिका लमही नगरपालिका–९ लाई हस्तान्तरण गरिएको छ। प्रकृति, संस्कृति तथा जैविक विविधताको संरक्षणसँगै धार्मिक तथा पर्यटकीय आकर्षणका रूपमा विकास गर्ने उद्देश्यले रिहार क्षेत्रमा नक्षत्र वाटिका निर्माणको कार्य अघि बढाइएको हो। वैदिक मान्यताअनुसार २७ वटा नक्षत्रसँग सम्बन्धित विभिन्न प्रजातिका बिरुवा रोपण तथा संरक्षण गरी निर्माण गरिने वाटिकालाई नक्षत्र वाटिका भनिन्छ। यस प्रकारको वाटिकाले एकै स्थानमा विभिन्न उपयोगी तथा धार्मिक महत्व बोकेका वनस्पतिको संरक्षण गर्ने अवसर प्रदान गर्ने मान्यता रहेको छ।
डिभिजन वन कार्यालय, देउखुरीले स्वीकृत लागत अनुमानअनुसार नक्षत्र वाटिका निर्माणसम्बन्धी विभिन्न पूर्वाधार तथा संरचनाको काम अघि बढाएको थियो। वाटिकामा बिरुवा रोपणलगायत लागत अनुमानअनुसारका केही कामहरू भने अझै सम्पन्न गर्न बाँकी रहेकाले बाँकी काम लमही नगरपालिका–९ बाट सम्पन्न गरी वाटिकालाई पूर्णरूपमा सञ्चालनमा ल्याउने उद्देश्यले हस्तान्तरण गरिएको हो।
हस्तान्तरणपछि लमही नगरपालिका–९ ले बाँकी रहेका निर्माण तथा व्यवस्थापनका काम सम्पन्न गर्नुका साथै वाटिकामा आवश्यक बिरुवा रोपण, संरक्षण, नियमित गोडमेल तथा व्यवस्थापन गरी यसलाई व्यवस्थित रूपमा सञ्चालनमा ल्याउनेछ।
नक्षत्र वाटिकामा वैदिक परम्पराअनुसार विभिन्न नक्षत्रसँग सम्बन्धित बिरुवाहरू रोपण गर्ने अवधारणा रहेको छ। विभिन्न स्रोतमा नक्षत्रअनुसार फरक–फरक वनस्पति सिफारिस गरिएको पाइन्छ। उदाहरणका रूपमा अश्विनी नक्षत्रका लागि कुचिला, भरणीका लागि अमला, कृत्तिकाका लागि डुमरी, रोहिणीका लागि जामुन, मृगशिराका लागि खयर, आद्र्राका लागि सिसौ, पुष्यका लागि पीपल, मघाका लागि बर, स्वातीका लागि अर्जुन, चित्राका लागि बेल, विशाखाका लागि कंकेरो, रेवतीका लागि महुआलगायतका प्रजाति उल्लेख गरिएको छ।
यसरी नक्षत्रसँग सम्बन्धित वनस्पतिको संरक्षण र प्रवर्द्धनसँगै वाटिकाले वनस्पति विविधता, वातावरण संरक्षण, धार्मिक–सांस्कृतिक ज्ञानको संरक्षण तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
रिहार क्षेत्र धार्मिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण क्षेत्र भएकाले यहाँ निर्माण गरिएको नक्षत्र वाटिकालाई व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन सकेमा स्थानीय बासिन्दाका साथै बाह्य पर्यटक र धार्मिक पर्यटकका लागि समेत थप आकर्षणको केन्द्र बन्न सक्ने अपेक्षा गरिएको छ।
डिभिजन वन कार्यालय, देउखुरी र लमही नगरपालिका–९ बीचको सहकार्यमा निर्माण तथा व्यवस्थापन हुँदै आएको यस नक्षत्र वाटिकालाई आगामी दिनमा थप व्यवस्थित, आकर्षक र ज्ञानमूलक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।